अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट

३१ जेठ, काठमाडौँ ।

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।

अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सिजनको समस्या बेहोर्नु नपर्ने बताए ।

कोरोनाको दोस्रो लहरका क्रममा एक्कासि अक्सिजन अभाव हुँदा धेरै व्यक्तिले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजनको माग अत्यधिक बढेपछि धेरैले महँगो मूल्य तिरेरै भए पनि अक्सिजन सिलिन्डर किनेका थिए ।

प्रधानमन्त्री ओलीले भारतबाट अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री आयात गर्ने क्रममा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राखेको र त्यो अब पूरा हुने स्पष्ट पारे । हरेक सय बेडभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले यस्तो महामारीमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर उचाइमा पुगेको बेला मुलुकमै लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास प्रशंसनीय र देशप्रति उत्तरदायीपूर्ण भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.