४ असार, काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ ।
बहुमत सदस्यको हस्ताक्षरसहित शुक्रबार दिउँसो आयोग पुगेका यादव पक्षले आधिकारिकता दाबी गरेको हो । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका थिए ।
उपेन्द्र पक्षले बहुमत सदस्यको हस्ताक्षर र निर्णय भएको भन्दै दफा ४३–४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको हो ।आयोगमा ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।
बिहिबार बसेको अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको थियो ।
सत्ता समीकरणका लागि जसपा दुई पक्षमा विभाजित भएको छ । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
यसअघि कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए ।

