चीनको सीमा क्षेत्रमा ठूलो वर्षा : तामाकोशी र सुनकोशी नदीमा बाढीको जोखिम

चीनको सीमा क्षेत्रमा ठूलो वर्षा : तामाकोशी र सुनकोशी नदीमा बाढीको जोखिम

५ असार, काठमाडौं ।

नेपाल–चीन सीमा क्षेत्रमा ठूलो पानी परेकाले तामाकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ ।

कार्यालयले सूचना निकालेर चिनियाँ क्षेत्रमा पहिरो आउँदा नदीको प्रवाह रोकिन गएकोले सुनकोशी र तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले यतिबेला नदीमा पानीको बहाव त्यति ठूलो नभए पनि बाढी आउने जोखिम रहेको बताए ।

चिनियाँ अधिकारीले सीमा क्षेत्रमा पानी परिरहेको र पहिरो पनि झरिरहेकाले जुनसुकै बेला बाढी आउन सक्ने जानकारी दिएकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उनको आग्रह छ ।

यसैबीच काभ्रे र सिन्धुपाल्चोकको सीमा क्षेत्र दोलालघाटमा अहिले सुनकोशी नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाह्रबिसेको भोटेकोशी नदीमा पनि जलसतह सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.