पशुपति क्षेत्रका खुला स्थानमा गुर्जो रोपण

पशुपति क्षेत्रका खुला स्थानमा गुर्जो रोपण

५ असार, काठमाडौं ।

पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरुआत भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतले गुर्जो बहु उपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिए ।

गुर्जो रोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा।माला खरेल र पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीले गरेका थिए । आइतबार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ ।

पशुपति क्षेत्रका खाली स्थानमा क्रमश ः गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो ।

अभियानकर्मी राजलवट विसं २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आएका छन् । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन्।

‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले सुनाए । उनले गत वर्ष पनि एक लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय लाहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उनले देशव्यापी रुपमा निःशुल्क वितरण अभियान चलाएका थिए ।

हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आउनुभएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन् । गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांशत सेवनकर्ताको अनुभव छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.