अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा

अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा

६ असार, जाजरकोट ।

दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालयले कारवाही गरेको छ ।

अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौँलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ । सप्लायर्सलाई कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको छ ।

पैँतालीस दिनभित्र अर्थात गत जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने ठेक्का सम्झौता गरेकोे उक्त सप्लायर्सले सम्झौता म्याद सकिए पनि जेठ मसान्तसम्म काम गर्न नसकेपछि सप्लायर्सलाई कालो सूचीमा राखेर धरौटी जफत गरी ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएकोे छ ।

सप्लायर्सले म्याद सकिनुभन्दा एक दिनअघि अर्थात गत जेठ १४ मा पत्र पठाएर कोरोना महामारी र लकडाउनका कारण समयमा काम गर्न कठिन भएको भन्दै १५ दिन थप समयका लागि माग गरेको थियो ।

कार्यालयले पटकपटक गरेर उक्त म्याद पनि थप गरेको थियो । थपिएको १५ दिन अर्थात जेठ मसान्तसम्म पनि काम नगरेपछि ‘तपाईंको सप्लायर्सलाई किन कारवाही नगर्ने’ भनेर शुरुमा ७२ घण्टे र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैसीले बताए । स्पष्टीकरण चित्त बुझ्दो नआएपछि कारवाही गरिएको उनले बताए ।

ठेक्का सम्झौता तोडिएसँगै सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले अक्सिजन प्लान्ट ठेक्का सम्झौता गर्दा धरौटी राखेको रु दुई लाख ९१ हजार ४३० जफत भएको छ । उनले बारम्बार ताकेता गर्दा पनि सप्लायर्सले अक्सिजन प्लान्ट स्थापना गर्न नसकेपछि ठेक्का सम्झौता तोडेर कारवाही गरिएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.