१३ असार, काठमाडौं ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आजदेखि सुरु हुँदैछ ।
राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम १९ गते शनिवारसम्म लाग्ने र त्यसका लागि एक हप्ता खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
एक हप्तासम्म प्रणालीमा विद्युत नपुग्ने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ ।
यस्तै प्राधिकरणले यो अवधिमा कुलेखानी जलाशयको पानी प्रयोग गरेर जति सक्दो छिटो विद्युत कटौतीको समय कम गर्ने प्रयास गरिने जनाएको छ ।
आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ ।
वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान गरिए पनि केही ढिलो गरेर व्यवसायिक उत्पादन गर्न लागिएको हो । अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ ।
४ सय ५६ मेगावाट क्षमताका ६ वटा युनिटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए।
अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना गरिएको उनले बताए।
तामाकोशीको विद्युत यसअघि सिधै ढल्केबर सबस्टेशनमा जोड्ने तयारी भए पनि अब खिम्तीमा जोडेर त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जानेछ ।
बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।
आयोजना निर्माण सुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । सुरुवाती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।