१४ असार, एजेन्सी ।
चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।
याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत गृहहरु निर्माण भइरहेका छन् ।
यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ ।
बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।
यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो ।
