विराटनगर ःइडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जे्न्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ ।
फ्रान्सेली क्लब पीएसजीका स्टार काभानी र बार्सिलोनामा सुपरस्टार लुइस स्वारेजको उत्कृष्ट तालमेलले क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल उरुग्वेसँग निरिह बन्यो । उरुग्वेका डिफेण्डरहरुले सुपरस्टार स्ट्राइकर रोनाल्डोलाई खुलेर खेल्न दिएनन् । समूह चरणको भन्दा सुधारिएको प्रदर्शन गरे पनि उरुग्वेको रक्षापंक्तिले अझै अपेक्षाकृत खेल्न सकेन ।
खेलको सातौं मिनेटमै स्वारेजसँगको सानादार तालमेलमा काभानीले हेडमार्फत सुरुवाती गोल गरेका थिए । उनको गोलले उरुग्वे पहिलो हाफमा एक शून्यले अघि रह्यो । तर, दोस्रो हाफमा पोर्चुगलले खेलमा फर्कने प्रयास गरेको थियो । ५५औं मिनेटमा रफायल गुरेरोको कर्नरमा रियल मड्रिडका पूर्व स्टार डिफेण्डर पेपेले हेडमार्फत बराबरी गोल गरेका थिए ।
तर, ६२औं मिनेटमा राड्रिगो बेन्टेनकरको पासले काभानीले व्यक्तिगत तथा टिमा लागि दोस्रो गोल गरे । त्यसपछि गोल हुन सकेन र उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । मेस्सी जस्तै रोनाल्डो पनि विश्वकपको नकआउट चरणमा गोल गर्न असमर्थ छन् ।
३३ वर्षीय रोनाल्डोका लागि यो सम्भवतः करिअरको अन्तिम विश्वकप हुनसक्छ । यद्यपि उनले अहिले नै निर्णय गर्ने समय नभएको बताएका छन ।