प्रधानमन्त्री ओलीद्वारा प्रतिष्ठानको शिलान्यास

२२ असार ७८, मंगलबार
Share this
759shares

२२ असार, सप्तरी ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको आज शिलान्यास गरेका हुन् । प्रतिष्ठानको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले उच्चस्तरीस्य शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताए ।

Advertisement

प्रतिष्ठानको स्थापनासँगै स्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकीय गन्तव्य बन्ने उनले बताए । मुलुकमा रहेका अनेकौँ प्रकारका विविधतालाई सम्पत्ति र सम्पन्नताको रूपमा लिँदै सबै मिलेर गरिबी, पछौटेपन हटाउनुपर्ने तथा विकासका काममा एकजुट हुनुपर्ने प्रम ओलीले बताए ।

तोकिएको समयमा र गुणस्तरीयरूपमा प्रतिष्ठानको काम सक्न स्थानीय तह, जनप्रतिनिधि र जनसमुदायसँग प्रम ओलीले सहयोगको अपेक्षा गरे । प्रधानमन्त्री ओलीले प्रदेश नं २ का लागि सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पु–याउने र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।

Advertisement

‘एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाए । सप्तरीमा अहिलेसम्मका संरचनाभन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलियो र आकर्षक संरचना हुने भन्दै उनले बाहिरी पक्षमा मात्र आकर्षक नभई आन्तरिकरूपमा सेवा पनि बलियो हुने बताए।

प्रतिष्ठानले रोजगारीको अवसर सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउँदै प्रम ओलीले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताए ।

राजविराज–रुपनी सडकको विस्तार, औद्योगिक क्षेत्रको विकास, पुरातात्विक महत्वका ऐतिहासिक मठ, मन्दिर, धरोहरको संरक्षण, सीमा सुरक्षा, डुबानबाट बचाउने कार्य सरकारले गरिरहेको बताए । उनले हिमाल, पहाड, तराई तथा पूर्वदेखि पश्चिम सबैतिर विकास गर्ने र सबै खाले समस्या समाधानमा सरकार लागेको बताए ।

भ्रममा परेर दिशाविहीन भएर देशको विकास उन्नतिमा आफूलाई पछाडि पार्न नहुने भन्दै प्रम ओलीले भने, “सहिष्णुता, सहअस्तित्वका साथ साझा समस्या समाधान गर्दै विकास, निर्माण र गुणस्तरीय उत्पादनमा एक भएर अगाडि बढे विकास सम्भव छ ।

” सोही कार्यक्रममा राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै ऐतिहासिक काम सम्पन्न गराउन नगरवासीको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रिपरिषद्को विसं २०७५ पुस १६ गतेको निर्णयले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जग्गा विवाद समाधान भई जेठ ३१ गते ६१ बिघा छ कट्टा जग्गा प्राप्त भएपछि शिलान्यासको कार्यक्रम अघि बढेको हो ।

कूल रु ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा. रोहित पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top