माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व-माओवादी नेता निर्वाचन आयोगमा

माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व-माओवादी नेता निर्वाचन आयोगमा

२३ असार, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।

माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोगमा पुगेका हुन् ।

कानुनअनुसार गर्नुपर्ने माओवादीको महाधिवेशन अहिलेसम्म नभएकोले यस्तो अवैधानिक पार्टीले कारबाहीलाई कसरी वैधानिक मान्ने भन्दै उनीहरुले माओवादी केन्द्रकै खारेजी माग गरेका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता भएको छ ।

नेता बादलसहित टोपबहादुर रायमाझी, प्रशु साह, गौरीशंकर चौधरी, लेखराज भट्टलगायत नेताहरु पार्टी परिवर्तन गरेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो ।

माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । नेता साह, रायमाझी, भट्ट र चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.