भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित,सडक अस्तव्यस्त

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित,सडक अस्तव्यस्त

७ साउन, काठमाडौं ।
भाडा समायोजन गर्नुपर्ने माग राख्दै काठमाडौं उपत्यका लगायत छोटो दूरीमा गुड्ने बस व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले बिहीबार चक्रपथ र अन्य सडकमा खाली गाडी गुडाएर चक्काजाम गर्दै आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा समायोजन गरेको तर छोटो दूरीमा गुड्ने गाडीहरुमा भाडा समायोजन नगरेको भन्दै आन्दोलन गरेका हुन् । इन्धनको मूल्य पटक पटक बृद्धि भएको, महँगी बढेको, राजश्वमा बृद्धि गरेको तर भाडामा नौ वर्षदेखि समायोजन नगरेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद सिटौलाले बताए । सबै क्षेत्रमा गुड्ने सार्वजनिक सवारीमा समान रुपमा भाडा समायोजनको माग गरे पनि वेवास्ता गरेपछि सडकमै उत्रिनुपरेको उनले बताए ।

सरकारले असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय गरेको थियो । नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदनले अन्तरप्रदेशस्तरमा भाडादर समायोजन गर्ने अधिकार यातायात व्यवस्था विभागलाई दिएको र प्रदेशभित्र र स्थानीय तहभित्र सञ्चालित सार्वजनिक सवारीसाधनका लागि भने सम्वन्धित प्रदेश सरकार र स्थानीय तहले भाडादर समायोजन गर्ने अधिकार दिएकाले विभागको जिम्मेवारी नभएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ रिजालले बताए ।

बागमती प्रदेश सरकारका प्रवक्ता रमेशकुमार उपाध्याय लुइँटेलले भने प्रदेशभित्र सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन बारे छलफल मात्र शुरु भएकाले केही दिनमा भाडा समायोजन बारे टुङ्गोमा पुग्ने बताए । निर्णय विना नै व्यवसायीहरुले आफूखुसी भाडा असुलेपछि प्रहरीले दैनिक सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको प्रहरीको तथ्याङ्क छ ।

सरकारले २०६५ चैत २० गतेदेखि वैज्ञानिक भाडा निर्धारण प्रक्रिया शुरु गरेको थियो । २०६९ सालपछि पहिलो पटक सरकारले भाडा समायोजन गरेको छ तर सबै क्षेत्रमा गुड्ने सवारीसाधनमा लागु गर्न व्यवसायीहरुले माग गरेका छन् । ३५ प्रतिशतसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि र बाँकी मजदुर, लुब्रिकेन्ट, टायर, बैंक व्याज लगायतबाट ६५ प्रतिशतलाई आधार मानी भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.