७ साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब अपमान सहेर नबस्ने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।
नेता नेपालले भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’
उनले यसअघि पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउँदै कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।
गलत कुरालाई स्वीकार गरेर शिर निर्हुयाएर बस्नु दास हुनु भएको उनले बताए । ‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, लोकतान्त्रिक चरित्र पनि होइन। अब लोकतान्त्रिक चरित्रको विकास गर्नुपर्छ।’
कार्यक्रममा नेता नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलालपनि विमोचन गरे। उनी प्रतिष्ठानका अध्यक्ष समेत हुन्। त्यसअघि उनले पुस्पलालको प्रतिमामा माल्यार्पण गरेका थिए।