९ साउन, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि तनावमा परेको बताएका छन्। । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्याको ८ औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,‘मन्त्री बन्न मकहाँ दबाब दिन मान्छेहरुको हुल भित्रबाट आएको छ । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने , कसलाई नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’
चार पाँच दिनदेखि आफू एक खालको मानसिक तनावभित्र रहेको पनि दाहालको भनाई छ । ‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।’