रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

८ साउन ७८, शनिबार

९ साउन , रसुवा।

Advertisement

नेपालको उत्तरी नाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलो पटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ का हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुईवटा ठूलो क्रेन आयात भएको हो । भन्सार हातामा प्रवेश भएका दुई वटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिवटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताए ।

Advertisement

रसुवागढी नाका सञ्चालन भएयता यस्ताखाले मेसिन सीमा क्षेत्रको लेहेन्देखोला मितेरी पुलबाट पहिलोपटक नेपाल भित्रिएको भन्सार कर्मचारीले बताएका छन् । यस्तै धेरै वर्ष प्रक्रियागत रूपमै अलमल परिरहेको रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणको आयात एवं प्राविधिक तथा कामदार बस्ने पूर्वाधार निर्माणले विद्युत् उत्पादनका लागि छिट्टै सुरुङमार्गको काम अगाडि बढ्नेमा आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

५० अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुने उक्त आयोजनामा कोरियाको लगानी रहेको र सुरुङलगायत पूर्वाधार निर्माणका लागि चाइना पावर नामक चिनियाँ कम्पनीले जिम्मा पाएको आयोजनाका प्राविधिकले बताएका छन् ।

Advertisement

निर्माणकार्यका लागि आवश्यक पर्ने उपकरण तथा औजार चीनबाट आयात भइरहेको र धुञ्चे पुछारको ड्याम साइट, हाकुबेँसी, मैलुङ दोभानका तीन स्थानमा आवासका साथै काम गर्ने स्थलमा जाने सहजताका लागि मैलुङनजिक त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्ने काम अगाडि बढिरहेको बताइएको छ । बाहिरी सतहको पूर्वाधार निर्माण सम्पन्न हुन लागेकाले आगामी अक्टोबरको पहिलो हप्ताबाट सुरुङको काम अगाडि बढाउने कार्यतालिका रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले जनाएको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top