गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

८ साउन ७८, शनिबार

९ साउन, काठमाडौँ ।

Advertisement

 आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ ।

गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यस पटक नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण फरक तरिकाले मनाइएको छ ।

Advertisement

घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्नेलगायत तरिका अपनाइएको छ । सामान्य रूपमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर औपचारिक कार्यक्रम पनि भएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

Advertisement

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएकाले मानसिक रूपमा श्रद्धाभाव प्रकट गरिएको छ ।

मनाइयो व्यास जयन्ती
वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा आजै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा यस्तो सन्देश दिन खोज्नुभएको धर्मशास्त्राचार्यहरुको तर्क छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीनकादेखि चल्दै आएको हो ।

यस्तो वैदिक गुरु परम्परालाई गुरुकुलले विशेष रूपमा निरन्तरता दिँदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ ।

यसैबीच जुम प्रविधिका माध्यमबाट विभिन्न विद्यालयले पनि गुरु पूर्णिमा पर्व शिक्षा दिने गुरु गुरुआमाप्रति श्रद्धा प्रकट गरी मनाएका छन् । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्ने क्रम घट्दै गएको विश्लेषण हुने गरेको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top