‘खोपमा किसान र मजदूरलाई प्राथमिकता होस्’

‘खोपमा किसान र मजदूरलाई प्राथमिकता होस्’

१३ साउन, काठमाडौँ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदूरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ सङ्क्रमणविरुद्धको खोपको व्यवस्थापन गर्न सरकारलाई निर्देशन गरेको छ ।

समितिको आजको बैठकले किसान र मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिराका घटनाबाट पशुपक्षी र बालीनालीमा क्षति पुगेका किसानलाई सहयोगस्वरुप यथाशक्य राहत उपलब्ध गराउन सुझाव दिएको छ ।

किसानले यस वर्ष पनि धानका लागि सहजरूपमा आवश्यक मल खाद्य प्राप्त गर्न नसकेको जनाउँदै समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई रसायनिक मल अभावको समस्या तत्काल र दीर्घकालका लागि व्यवस्थापन गर्न गम्भीर ध्यानाकर्षण गराएको छ ।

समितिले भनेको छ, ‘मल खाद्य खरीदका लागि बजेट व्यवस्था गरी किसानका मागबमोजिम सरकारले समयमै किसानका मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्को भैरहवास्थित राष्ट्रिय गहुँबाली अध्ययन केन्द्रको जग्गा विभिन्न नाममा हुन लागेको अतिक्रमणका सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको पनि सभापति सुवेदीले जानकारी दिइन् । अतिक्रमको घटनाकाबारे जानकारी उपलब्ध गराउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैबीच कृषि अनुसन्धान परिषद्ले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राष्ट्रिय गहुँबाली कार्यक्रम रुपन्देहीको तीन बिघा जग्गा १०० श्यया क्षमताको बहुउपयोगी संरचना निर्माण गर्न उपलब्ध गराउन माग भई आएको पुष्टि गर्र्दै गहुँको अनुसन्धान र परीक्षणमा प्रतिकूल प्रभाव पर्ने भएकाले उपलब्ध गराउन नसकिने जानकारी गराएको छ ।

यसअघि बैठकमा समिति सदस्यले किसानलाई सरल, सुलभ र सहजरूपमा मलखाद्य उपलब्ध गराउन, कृषि ऋण र अनुदान टाठाबाठाको पोल्टामा गएकाले बास्तविक किसानमा पु¥याउन तथा प्राकृतिक प्रकोपका घटनाका पीडितलाई पुनर्वास र राहतका कार्यक्रम ल्याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.