१४ साउन, काठमाडौं ।
उखु किसानहरुले भदौ ५ गतेसम्म भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी दिलाउन भदौ ५ सम्मको अल्टिमेटम दिएका हुन् ।
उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नपाएको उनीहरुले बताएका छन् ।
समितिले भनेको छ, ‘उद्योग मन्त्रालय उद्योगीहरुको जायजथा विक्री गरेर भएपनि किसानहरुलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन नसक्नु सरकारको निरीहताको सीमा नाघेको छ । किसानहरुको भविष्यसँग खेलवाड गरिएको छ । पसको जति भत्र्सता गरेर पनि कम नै हुनेछ । अव न्याय खोज्न कहाँ जाने ?’
समितिले भनेको छ, ‘यो किसानहरुको पैसा नदिने पड्यन्त्र हो । सबै किसानहरुलाई गाउँ–गाउँमा सूचना दिएर रेकर्ड संकलन गराई किसानको रकम भुक्तानी गराउने दायित्वबाट पनि सरकार भाग्न खोजेको अनुभूति हामी किसानलाई हुँदैछ । यसो भयो भने फेरि हामी किसान आन्दोलन गर्न वाध्य हुनेछौं ।’
उखु किसानहरुको दावी गरेको ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलको प्रतिवेदनमार्फत् छिनोफानो गर्ने भनेपनि कार्यान्वयन गरेको समितिको गुनासो छ ।
समितिले उखु किसानहरुसँग सम्बन्धित अन्य समस्याको बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनि पनि नगरिएकोे बताएको छ ।