सडक नबनेपछि जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

१४ साउन ७८, बिहीबार

१४ साउन, गोरखा।

Advertisement

 सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ

गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए। ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।

Advertisement

“नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन”, उनले भने, “ठूला सवारी साधानसमेत घण्टाँै फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।” ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।

बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हटौँडाले उक्त सडकखण्ड कालोपत्रको ठेक्का लिएको छ । यहाँको दोस्रो ठूलो व्यापरिक केन्द्र आरुपघाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एकलेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इञ्जीनियर गणेश सुवेदीले जानकारी दिए ।

Advertisement

“सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ”, उनले भने “यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिकरूपमा ठेकेदार कम्पनीलाई त्यहीअनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचक्र्याइँ गरिरहेका छन् ।” जनप्रतिनिधि र स्थानीयवासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।

ठेकेदारले निर्माण सामग्रीको अभाव देखाउने गरेको इञ्जीनियर सुवेदीको भनाइ छ । करिब रु आठ करोड ५० लाखको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४।६ किलोमिटर सडक निर्माणको बाँनिया कन्स्ट्रक्शनले पाएको छ । ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।

दैनिक दर्जनाँै सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरुले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानकर्षंण गराउन कोदो रोपाइँ गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उनले सडकमा तत्काल सवारी चल्ने अवस्था नरहे आफूहरु धर्नामा बस्न बाध्य हुने बताए ।दीपक श्रेष्ठ/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top