काठमाडौँ–तराई/मधेस फास्ट ट्रयाक : चिनियाँ प्राविधिक टोली काठमाडौँमा

१४ साउन ७८, शुक्रबार

काठमाडौँ : निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गको पहिलो प्याकेजको सुरुङमार्ग र पक्की पुलको डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आइपुगेको छ ।

Advertisement

द्रुतमार्गको महादेवडाँडामा निर्माण हुने तीन किलोमिटरभन्दा बढीको सुरुङमार्गसहित पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो । सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा चार वर्षअघि नै नेपाली सेनालाई दिएको छ ।

उहाँले भन्नुभयो, “नेपाल आइपुगेका प्राविधिक टोलीको मुख्य काम सुरुङमार्ग र पुलको डिजाइन तयार गर्नु हो ।” टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिस्टसहितका प्राविधिकहरू रहेका छन् । उहाँका अनुसार निर्माण सम्झौता भएको छ महिनाभित्र ती प्राविधिक डिजाइन तयार गरी स्वदेश फर्किने छन् । त्यसपछि निर्माणका लागि अर्काे प्राविधिक टोली नेपाल आउने छ । द्रुतमार्गको दुइटै प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुल (हाइब्रिज) निर्माणका लागि नेपाली सेना र चिनियाँ कम्पनीसँग वैशाख २९ गते सम्झौतामा हस्ताक्षर भएको थियो । करिब दुई महिनाअघि सम्झौता भए पनि कोभिड–१९ का कारण प्राविधिक टोली नेपाल आउन सकेका थिएनन् ।

Advertisement

एक महिनाअघि द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको मकवानपुरको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र पुल (हाइब्रिज) डिजाइन गर्न सो खण्डको निर्माण ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोलीले कार्यस्थलमा पुगी काम सुरु गरिसकेका छन् । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ छ । सुरुङ तथा पुल (हाइब्रिज) र अन्य निर्माण कार्य सँगसँगै अगाडि बढ्ने भएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top