१५ साउन, काठमाडौं ।
जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भइन् । उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् ।
उनले १२।९१ सेकेण्डमा दूरी पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन् । प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् । प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।
युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२ः५५ सेकेण्ड हो। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन् । त्यसअघि २०१९ मै कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा उनले १२।७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।
नेपालबाट महिला १०० मिटरमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को सागमा १२।१९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा सहभागितामै सीमित बन्यो ।
यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राषट्रिय कीर्तिमानमा सुधार गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् ।