१९ साउन, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घाेषणा गरे ।
सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप हुँदै एकदिवसीय मान्यता प्राप्त गर्ने राष्ट्र बनाउन उनले कप्तानीको महत्वपूर्ण भूमिका खेलेका छन् । पारसले २८ असोज २०७६ मा कप्तानबाट राजीनामा दिएका थिए ।
उनले अब क्रिकेट संघको नेतृत्वतिर जाने संकेत गरेका छन् । खेलाडी जीवनपछि क्यान नेतृत्वमा जाने पारसले बताउँदै आएका छन् । आफूहरु खेलेर मात्र क्रिकेट विकास नहुने र क्यानले पनि त्यहि अनुसार काम गर्नुपर्ने उनको बुझाइ छ ।
क्यान पदाधिकारी बन्न जिल्ला प्रदेश हुँदै केन्द्रमा जानुपर्छ । त्यस तयारीको लागि पारसले सन्न्यास दिएका हुन् । क्रिकेट संघको निर्वाचन २०८० मा हुनेछ, तर संघको विधानमा चुनावमा जान खेलाडीले दुई वर्ष क्रिकेट छाडेको हुनुपर्ने व्यवस्था छ । अहिले सन्यास लिँदा पारसले यो समय पनि मिलाएको देखिन्छ ।
उनले भने ‘क्रिकेट व्यवस्थापनमा जाने इच्छा छ, यसका लागि समय पनि मिलेको छ । एकल प्रयासबाट मात्र केही गर्न सकिँदैन, सबैको साथ चाहिन्छ ।’
पारस बारम्बार नेपाली क्रिकेटको विकासका लागी, खेलाडीको न्यायका लागि लागी परिरहेका थिए । उनले कप्तान रहँदा नै नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको अव्यवस्थाबारे बारम्बार आवाज उठाएका थिए । सन् २०१४ मा तलब भत्ता, नयाँ क्यान लगायतको माग राखेर उनीसहितका खेलाडीहरुले प्रतियोगिता बहिस्कार गरेका थिए । त्यसयता पारसले क्रिकेट व्यवस्थापन सुधारमा जोड दिँदै आएका छन् ।