जलविद्युतले बदलिएको नारच्याङमा गाउँ

१८ साउन ७८, मंगलबार

१९ साउन, म्याग्दी।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । वडाध्यक्ष चन्द्रप्रकाश फगामी भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउँछन्।

“कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन्, घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “जलविद्युत् आयोजना भित्रिएसँगै गाउँका कच्ची घर पक्कीमा रूपान्तरण भइरहेका छन् ।”

जग्गाको भाउ आकासिएको छ । चार सय ५० घरधुरीमा एक हजार ६०० जनसङ्ख्याको बसोबास भएको नारच्याङका जलविद्युत् आयोजनाहरुमा काम गर्न त्योभन्दा बढी सङ्ख्यामा मानिस बाहिरबाट आएका छन् ।

वडाध्यक्ष फगामीका अनुसार प्रतिरोपनी रु ३० देखि ३५ लाखमा जग्गा खरिदबिक्री हुन थालेको छ । अवसर र रोजगार खोज्दै शहर बजार, पसेका र विदेसिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ । गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन तथा स्वास्थ्य संस्थाको भवन बनेका छन् ।

जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेली ब्रिज, भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटेल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात व्यवसाय, सेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए।

“प्रत्यक्ष र अप्रत्यक्षरूपमा गाउँमै धेरै सम्भावना र अवसर सिर्जना भएको छ”, उनले भने, “आयोजनाहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, सीप विकास र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।”

निर्माणका क्रममा हुने वातावरणीय क्षतिको असर न्यूनीकरणका लागि जलविद्युत् आयोजनाहरुले कुल लागतको शून्य दशमलव ७५ प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन र खर्च गर्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीयलाई ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँड हुने संवैधानिक व्यवस्था छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत नारच्याङका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता, वृक्षरोपण, सीपमूलक तालीम, जैविक विविधताको खोज अनुसन्धान र संरक्षण, पर्यटन प्रवर्धनलाई सहयोग पुग्ने कार्यक्रम गरिएका छन् ।

हालै निर्माण सकिएको म्रिस्तीखोला जलविद्युत् आयोजनाको वातावरणीय एकाइका प्रमुख रामकुमार खड्काका अनुसार प्रभा माविका तीनजना निजी स्रोतका शिक्षकका लागि सात वर्ष तलबभत्ता उपलब्ध गराइएको थियो । प्रभा माविले दुई वर्षदेखि हाइड्रो इन्जिनीयरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । क्रान्ति, नीलगिरि, धवलागिरि र नारच्याङ आधारभूत विद्यालयका प्रावि तहका एक÷एकजना शिक्षकलाई सात वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत म्रिस्तीखोलाले तलबभत्ता व्यवस्था गरेको थियो ।

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु. पाँच लाख, शिवालय मन्दिर निर्माणमा रु. पाँच लाख सहयोग गरेको म्रिस्तीखोलाले स्थानीयवासीलाई घरबास, च्याउ खेती, सवारी चालक, इलेक्ट्रिसियनसम्बन्धी तालीम प्रदान गरेको थियो । निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनाले प्रभा मावि परिसरमा रु. १५ लाख खर्चेर चमेनागृहको भवन निर्माण गरेको छ ।

म्रिस्तीखोला जलविद्युत् आयोजनाले २०७१ सालमा कालीगण्डकी नदीमाथि बेली ब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुईवटा बेली ब्रिज बनाएको म्रिस्तीखोलाले १४ किलोमिटर सडक निर्माण गरेको छ ।

रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेँसीदेखि लेकगाउँ गत वर्ष सडक सञ्जालमा जोडिएको थियो । स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रु. एक करोडभन्दा बढी खर्च गरे पनि बेँसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ र उपकरण प्रयोग गरेर अक्करे पहाड छिचोलेर गाउँमा सडक पुगेको लेकगाउँका श्याम पुर्जाले बताए । “पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनाैं”, उनले भने, “आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।”

म्रिस्तीखोलाले सेनाको शिविर राख्न बेँसीगाउँमा बनाएको भवनमा अन्नपूर्ण गाउँपालिकाले गत पुस महिनादेखि २५ शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गरेको छ । नारच्याङवासीको आर्थिक हैसियतमा पनि जलविद्युत् आयोजनाहरुले परिवर्तन ल्याएका छन् । उच्च र मध्यम वर्गकाले व्यापारसँगै आयोजनाहरुमा ठेक्कापट्टा, गाडी, ट्र्याक्टर, एक्साभेटर, ब्याकुहोलोडर भाडामा लगाएका छन् । न्यून वर्गकाले दैनिक ज्याला मजदुरी गरेर गाउँमै रोजगारी र आम्दानीको अवसर पाएका छन् ।

गतवर्ष म्रिस्तीखोला जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले १७ लाख तीन हजार ५१२ कित्ता सेयर लगानी गरेका थिए । धितोपत्र बोर्डमा गत हप्ता म्रिस्तीको प्रतिकित्ता सेयर ९७० का दरले कारोबार भएको थियो । सेयरको भाउ करिब १० गुणाले बढेपछि लगानी गरेका नारच्याङवासी उत्साहित छन् । संस्थापक सेयर लगानी गरेका उनीहरुले दुई वर्षपछि किनबेच गर्न पाउँछन् ।

एकै वडामा १० आयोजना

विसं २०४५ मा नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेको नारच्याङमा २०७६ सालमा म्याग्देलीहरुको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । विसं २०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण शुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन शुरु गरेको छ ।

नीलगिरिखोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको नीलगिरि–१ र ७१ मेगावाट क्षमताको नीलगिरि–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रु. १३ अर्ब लागत अनुमान गरिएको दुईवटै आयोजना सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनीयर केशव वाग्लेले बताए ।

ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले नारच्याङको बेँसी गाउँको सिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि बाँधसम्म १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरेको छ ।

कम्पनीका प्रतिनिधि होमनाथ पाण्डेले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरु गर्ने तयारी भएको बताए । सुपर घलेम्दी हाइड्रोपावर प्रालिले बनाउने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको दुई वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता भएको थियो ।

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत् गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।

तयार छ प्रसारण लाइन

कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । दानादेखि पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९.६ किलोमिटर डबल सर्किटको तार तानिएको छ ।

सबस्टेशन र प्रसारण लाइन बनाएपछि भने कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले बताए।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top