काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता हुनुभएको थियो । भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएको आरोप स्थानीयवासीको छ ।
गृहमन्त्रालयले उक्त घटनाको सत्यतथ्य जानकारीका लागि भन्दै छानबिन समिति गठन गरेको छ । मन्त्री खाँणले समितिको प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता जनाउनुभएको हो ।
प्रतिनिधि सभामा मङ्गलबार विशेष समय लिएर गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । समितिले स्थलगत रूपमा तथ्यका आधारमा प्रतिवेदन बनाउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘मन्त्रालयले छानबिन समिति बनाएको छ । सहसचिवको नेतृत्वमा तीन सुरक्षा निकायबाट प्रतिनिधित्व छ । समितिले घटनास्थलमै पुगेर छानबिन गर्नेछ । तुइन तरेका र तर्ने प्रतीक्षामा रहेका व्यक्तिसँग पनि भेटघाट गर्नेछ । समितिले प्राप्त गरेका निष्कर्ष र ठहरलाई सरकारले दृढताका साथ अगाडि बढाउँछ ।’’
समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान कायम राख्ने पनि मन्त्री खाँणको भनाइ छ । उहाँले महाकालीको तुइन यात्रा चाँडै विस्थापित हुने पनि बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।