काठमाडाैँ : युनेस्कोको विश्व सम्पदा समितिका १४ मुलुकको अडानका कारण विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदालाई खतराको सूचीबाट हटाइएकोे छ ।
युनेस्कोले सन् २०१५ देखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राखेको थियो । भूकम्पलगत्तै सन् २०१५ मा सम्पन्न बैठकपछि उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । खतराको सूचीमा परेकोे ७ वर्षपछि सन् २०२१ मा बल्ल उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउन सफलता प्राप्त भएको छ ।जुलाई १७ देखि ३१ तारिखसम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।२१ सदस्यीय कार्यकारीणी समितिको बैठकमा नेपालको काठमाडौं उपत्यकाको सम्पदाको विषय प्रवेश गर्नासाथ अध्यक्षता ग्रहण गर्ने मुलुक चीनसहितका १४ राष्ट्रले खतराको सूचीमा रहेका उपत्यकाको सम्पदा पुनःनिर्माण सन्तोषजनक देखिएकाले खतराको सूचीबाट हटाउनुपर्ने भनाइ राखेका थिए ।
चीन, अस्ट्रेलिया, थाइल्यान्ड, नाइजेरिया, ओमान, साउथ अफ्रिका, इजिप्ट, बोसनिया हर्जगोभिना, हंगेरी, इथियोपिया, किर्गिस्तान, साउदी अरेयिबा र बहराइनले काठमाडौं उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउनुपर्ने विषयमा एकमत जाहेर गरेको बैठकमा सहभागी पुरातत्व विभागका विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सरस श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।