विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए

२२ साउन ७८, शुक्रबार

२२ साउन, टीकापुर।

Advertisement

लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् ।

टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा हुनुहुन्थ्यो । वैशाखयता विद्यालय बन्द भएपछि प्रिन्साले अचेल क, ख, समेत बिर्सेकी छन् । “राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो”, अभिभावक छपिलालले भने, “साना बालबालिकाले छिटो बिर्सने रहेछन् । चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ ।”

Advertisement

टीकापुर–३ की गीता विकका छोराको हालत पनि यस्तै छ । जागिरे गीताले कक्षा १ मा अध्ययनरत छोरालाई समय दिनसमेत पाउँदिनन् । उनी काममा जाँदा छोरा भुल्ने भनेको मोबाइल र टेलिभिजनमा हो । गीताको छोराले पनि पढेका सबै कुरा बिर्सन थालेको छ । “कक्षा १ मा पढ्ने छोराले सबै कुरा बिर्सिसकेको छ । विद्यालय अझै नखुले छोराको पढाइ शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ”, गीताले भनिन्, “साना बालबालिकालाई अध्ययन गराउने विकल्प छैन । हामीले घरमै पनि पढाउन सकेका छैनौँ ।”

जोशीपुरकी धना धामीको नातिको पनि विद्यालय बन्दका कारण पढाइ बिग्रिएको छ । धनाको नाति कक्षा ४ मा पढ्छन् । धनालाई पनि नातिले पढेका सबै कुरा बिर्सिएपछि तनाव भएको छ । “विद्यालय नचलेपछि नाति दिनभरि साना केटाकेटीसँग खेल्छ, न गृहकार्य छ, न त अर्को शैक्षिक सत्रका किताब किन्न पाइयो”, धनाले भनिन्, “अझै कोरोना महामारी फैलँदै छ । विद्यालय चल्ने टुङ्गो छैन । बालबालिकाको पढाइ त बर्बाद भयो ।”

Advertisement

सरकारले अध्ययनका लागि विकल्प खोजेर अध्यापन गराउन भनेको छ तर कैलालीमा अनलाइनमार्फत अध्यापन गराउन निकै कठिन छ । अभिभावक रुपा सार्की विपन्न अभिभावकले अनलाइन कक्षामा सहभागी गराउन नसक्ने, विद्यालयले पनि त्यसरी पढाउने वातावरण नभएको बताउँछिन् । “यहाँका सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाउन सम्भव छैन, विद्यालय आफैँ सुविधासम्पन्न छैनन्”, उनी भन्छिन्, “अभिभावक कतिपयका त मोबाइल नै छैन, कहाँबाट इन्टरनेटको पहुँमचा पुग्नु ? विद्यार्थीको भविष्य अन्धकारतर्फ जाँदैछ ।”

विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइसमेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ । भजनीका रामलाल चौधरीका छोरा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय बन्द भएपछि रामलालका छोरा कमाउनका लागि भारत लागेका छन् । “लकडाउन भयो, छोराले खाली बस्नुभन्दा भारत जान्छु भनेर गयो, उतै नोकरी गर्न थालेको छ”, रामलाल भन्छन्, “राम्रै नतिजा ल्याउँथ्यो, अब पढाइ छुट्यो । विद्यालय खुल्ने ठेगान छैन, छोरा अब पढ्दिन उतै कमाउँछु भन्छ ।”

रामलालका छोरा जस्तै कक्षा ९, १० मा अध्ययनरत धेरै बालबालिका पढाइ बन्द हुँदा कमाउन भारत तथा नेपालका अन्य जिल्ला गएका छन् । अझ बालविवाहको जोखिम पनि त्यत्तिकै छ । कैलाली जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । एक महिना ओरालो लागेको सङ्क्रमण पुनः फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले साउन ३२ गते सम्मका लागि निषेधाज्ञा लम्बाएको छ । कैलालीमा विद्यालय खुल्ने त सम्भावना पनि नभएको शिक्षकहरु बताउँछन् ।

स्थानीय पालिकाहरुले विद्यार्थीको भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएका छन् । यहाँका केही विद्यालयमा चहलपहल हुन थालेपछि बुधबार कैलालीको टीकापुर नगरपालिकाले सूचना निकालेर जोखिम बढेकाले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ । “स्वास्थ्य ठूलो कुरा हो । बाँचेमा अर्को वर्ष अध्ययन गरे पनि हुन्छ । अहिले महामारी पुनः फैलँदै छ । विद्यालय खोल्ने अवस्था छैन”, शिक्षा अधिकृत नरेश अवस्थीले भने, “त्यसैले हामीले सूचना गरेका हौँ । विकल्प खोजेर पढाउनुस् भनेका छौँ तर सामुदायिक विद्यालयमा त्यसो गर्न कठिन छ । यस्तो बेला अभिभावकले विशेष ध्यान दिन जरुरी छ ।”

अधिकृत अवस्थी विद्यालय बन्द रहेका बेला अभिभावकले बालबालिकालाई घरमा समय दिने, पढाइमा रुचि जाग्ने खालका कथा सुनाउने, नयाँ रुचिका किताबहरु पढ्न लगाउने कार्य गर्नुपर्ने बताउछन् । “विद्यार्थीलाई खेल्न छोडिदिने होइन, समय दिएर उनीहरुलाई व्यस्त राख्ने, केही न केही पढ्न लगाउने कार्य गर्नुपर्छ”, उनले भने, “महामारी नियन्त्रण भएमा विद्यालय जाने वातावरण बन्नेछ ।”रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top