२३ साउन, काठमाडौँ ।
अफगानिस्तानमा पछिल्लो चौबीस घण्टामा चलाइएको कारबाहीमा कम्तिमा ३८५ तालिबान बिद्रोही मारिएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा सुरक्षा बलले १४ प्रान्तमा कारबाही चलाउँदा भारी संख्यामा तालिबान बिद्रोही मारिएको बताएका छन् ।
प्रवक्ता अमनले तालिबानले तलिकान शहर, फैज–अबाद शहर, बदाखशान प्रान्तीय क्षेत्र र तखार प्रान्तीय राजधानी क्षेत्रमा गरेको आक्रमणको प्रयास सुरक्षाकर्मीले विफल तुल्याएको बताए । सुरक्षाकर्मीले कुन्दुज प्रान्तमा तालिबानले लुक्नका लागि प्रयोग गर्ने स्थललाई लक्षित गरी कारबाही गरेको उनले ट्वीटमा उल्लेख गरेका छन् । मन्त्रालयले हवाई आक्रमणले समेत आतङ्ककारी तालिबानले ठूलो क्षति बेहोरेको जनाएको छ ।
अफगानिस्तानमा जारी हिंसामा सन् २०२१ को पहिलो छ महिनामा एक हजार ६५९ जना सर्वसाधारणको मृत्यु भएको छ भने तीन हजार २५४ जना घाइते भएका छन् ।
