२५ साउन, विराटनगर ।
मोरङको सुन्दरहरैचा नगरपालिका–७ बाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–५ घर भई हाल सुन्दरहरैचा नगरपालिका–५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।
आज दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जाँदै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला पारेको थियो ।
त्यसपश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । सिटी सफारीसहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।