जुम्लामा भालुकाे आक्रमणबाट ३ जना गम्भीर घाइते, भालुलाई गोली हानेर मारियो

२८ साउन ७८, बिहीबार
Share this
744shares

२८ साउन, कर्णाली।

Advertisement

सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उनको श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान ५ः३० बजेतिर भालुले आक्रमण गरी घाइते बनाएको थियो ।

श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आक्रमण गरेको थाहा पाएर चिच्याउने बित्तिकै आफूलाई चिथोरेको पीडित निर्मलाले बताइन् ।

Advertisement

चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

टाउको र अनुहारमा आक्रमण गरी घाइते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । भालुले स्थानीयमाथि आक्रमण गरी घाइते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घाइतेको उद्धार र भालुको खोजीकार्यमा लागेको थियो । भालु बजारमा छिरेर स्थानीयमाथि आक्रमण गरेपछि भालु आतङ्कले आज जुम्ला सदरमुकाम दिनभर तनावग्रस्त बनेको थियो ।

Advertisement

चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थियो ।

बजारमा मान्छे घाइते बनाउँदै हिँडेको भालुलाई जीवितै नियन्त्रणमा लिन खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गोली हानेर मारिएको प्रहरी नायब उपरीक्षक थापाले जनाए । मारिएको भालुको पशुविज्ञबाट शव परीक्षण गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top