ललितपुरमा ‘नो रेबिज, नो बेबिज’ अभियान सुरु

२ भदौ ७८, बुधबार

२ भदाै,ललितपुर ।

Advertisement

ललितपुर महानगरपालिकामा सामुदायिक (भुस्याहा) कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी ‘नो रेबिज, नो बेबिज’ अभियानको थालनी गरिएको छ । ‘रेबिजमुक्त ललितपुर’ को सपना साकार तुल्याउन महानगरपालिकाको पहल र स्नेहा केयरको सहयोगमा सो कामको थालनी मङ्गलबारदेखि गरिएको हो । मुलुकले आउँदो सन् २०३० सम्म रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिइरहँदा खासै पहल नगरेको देखेपछि आफूहरू सो काममा लागिपरेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

उनले भने, ‘हामीले २९ वडाभित्रका कुकुरलाई खोप दिन थालिसकेका छौं । यसबाट मानिसलाई समेत हुनसक्ने जोखिमको मूल्याङ्कन गरी अघि बढ्न जरुरी देखियो ।’ यसैगरी सडकमा घाइते भएका छाडा चौपायाको व्यवस्थापन अनि रेखदेख तथा उद्धारका लागि एउटा भेटनरी एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढिरहेको महर्जनले जानकारी गराए ।

Advertisement

मङ्गलबार महानगरपालिका–१६ स्थित पाटन दरबार परिसरमा ८५ र आज ७२ गरी कूल १५७ कुकुरलाई खोप लगाइसकेको विगत सात वर्षदेखि पशु कल्याणसम्बन्धी कार्यक्रम गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराइन् । उनले भनिन्, ‘हाम्रो संस्थामा रहेको एप्सले कुकुरको सङ्ख्या गन्ती गर्छ र यसलाई स्प्रे गरी खोप लगाइन्छ । खोप लगाएको ठाउँमा चार वा पाँच दिनपछि गएर हेर्दा यदि कुनै कुकुरको जीउमा स्प्रे गरेको देखिएन भने त्यसलाई समातेर स्प्रे गरी खोप लगाएर रेबिजमुक्त गराइन्छ ।’ विगत दुई वर्ष पहिले महानगरपालिकामा लगभग १० हजार सामुदायिक कुकुरलाई खोप लगाइएको र यस पटक भने भालेपोथीसमेत छुट्टाएर तथ्याङ्क सङ्कलन गरी बन्ध्याकरण गर्ने योजना बनाइरहेको श्रेष्ठले बताइन् ।

ललितपुरमा सो अभियान सफल बनाउन हरेक दिन बिहान ५ः ३० देखि १० बजेसम्म कुकुर भोकाएर फोहर खाने ठाउँमा जम्मा भएका बेला स्प्रे गरी रेबिजको खोप दिइरहेको श्रेष्ठको भनाइ छ । ‘दिउँसो र बेलुका कुकुर एकै ठाउँमा नबस्ने र मानिसको पनि भीडभाड हुने भएकाले आउँदो असोज १३ अर्थात् २९ सेप्टेम्बर ‘विश्व रेबिज दिवस’का दिनसम्म ललितपुरमा खोप लगाइसक्ने योजनाअनुरुप धमाधम काम गरिरहेका छौँ’ उनले थपिन् ।

Advertisement

मुलुकमा कोरोना महामारी बढेर बन्दाबन्दी भएको समयमा सो संस्थाले दुई हजार ५०० देखि तीन हजार कुकुर, बाँदर, गाईलाई बिस्कुट, उसिनेको आलु, केरा, चना, चामलका कनिका र बन्दाकोपीको पात आदि खुवाएर रेखदेख गरेको बताइएको छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुरले अर्कोलाई टोक्दा एकपछि अर्कोमा सर्दै जाने र त्यसको र्‍यालमा रहेको भाइरस टोकाइबाट घाउका माध्यम हुँदै शरीरमा प्रवेश गर्ने गर्छ । मानिसमा रेबिज लागेमा ज्वरो आउने अनि शरीर झमझमाउने आदि लक्षण देखिनाका साथै पानी, तथा हावादेखि डराउने, चिटचिटाहट हुने र रिसाउने समस्या पनि देखिन्छ । सो कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म सुई लगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top