‘अफगानिस्तानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’

‘अफगानिस्तानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’

४ भदाै, काठमाडौँ ।

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडको रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारी सक्रियता बढाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणलाई आज उनकै कार्यकक्षमा भेटेर समाजका सभापति गोविन्द खनाल नेतृत्वको प्रतिनिधिमण्डलले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिकहरूको उद्धार र सकुशल नेपाल फिर्तीका लागि अन्य मुलुकहरूसँग समन्वय र सहकार्य गर्न तथा कोभिडको महामारीबाट जोगाउन सबै नेपाली नागरिकलाई यथाशक्य चाँडो खोपको व्यवस्था गर्न अनुरोध गरेको हो ।

साथै प्रमण्डलले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण एवं भण्डारणलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि शीघ्र अनुमोदनका निम्ति आग्रह गरेको छ ।

प्रतिनिधिमण्डले गृहमन्त्रीसमक्ष १० बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै लागू औषध/मदिरा दुर्व्यसन रोकथामविरुद्ध राष्ट्रिय अभियान सञ्चालन, सन् १९९७ मा जारी भएको मानवविरुद्ध लक्षित बारुदी सुरुङको प्रयोग, भण्डारण, उत्पादन तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदन गर्न ध्यान आकर्षित गरेको छ ।

यसैगरी जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय संरक्षण अभियानलाई राज्यको उच्च प्राथमिकतामा पार्नुपर्ने र चुरेको चरम दोहनले मरुभूमिकरणको जोखिम बढाएकाले चुरे संरक्षणतर्फ विशेष ध्यान दिन पनि अनुरोध गरेको छ । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.