५ भदाै, पोखरा।
कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् ।
पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले सुरुको दिन शुक्रबार परीक्षणका रूपमा दुईवटा उडान भरिएको जानकारी दिए । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका लागि मुख्य आकर्षणका रूपमा रहेको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको दुई वर्षको अवधिमा दुई पटक गरी १२ महिना अल्ट्रालाइटको उडान बन्द भएको थियो । त्यसअघि एभिया क्लब, फिस्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट र हेलिएयर नेपालले अल्ट्रालाइट सञ्चालन गर्ने भएपछि पनि अहिले पोखरा अल्ट्रालाइटले मात्र उडान सुरु गरेको छ ।
कोरोना सङ्क्रमणको त्रास रहिरहेकाले अल्ट्रालाइटलाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
श्रेष्ठका अनुसार पोखरामा सञ्चालित विभिन्न चारवटा कम्पनीसँग १६ वटा अल्ट्रालाइट (पुतली जहाज) रहेका छन् ।नागरिक उड्डयन प्राधिकरण मातहत पोखरामा २५ वर्ष अगाडिदेखि अल्ट्रालाइट सञ्चालन हुँदै आएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन नभएकाले आन्तरिक पर्यटकलाई छ हजार पाँच सय रुपियाँ सहुलियत दरमा पोखराका पर्यटकीय स्थल, हिमशृङ्खलाको अवलोकन गराउने गरी उडान सञ्चालन गरिएको जनाइएकाे छ ।