कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी, आज देउवालाई प्रतिवेदन बुझाइँदै

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी, आज देउवालाई प्रतिवेदन बुझाइँदै

६ भदौ, काठमाडौँ ।

लामोसमय देखि चलिरहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् ।

क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले विवाद टुंगाएका हुन् ।

समिति सदस्य लेखकले विवाद टुंगिएको र आइतबार सभापति शेरबहादुर देउवालाई सहमतिको प्रतिवेदन बुझाउने तयारी भएको बताएका छन् । ‘हामीले विवादलाई टुंगो लगाएका छौं ।

आज अन्तिम रुप दिएर सभापतिलाई प्रतिवेदन बुझाउँछौं’ उनले भने । कांग्रेसले भदौ ३ गतेसम्म सदस्यता विवाद टुंग्याएर सभापतिलाई प्रतिवेदन बुझाउने गरी जिम्मा दिएपनि नेताहरु ढिलो गरी सहमतिमा पुगेका हुन् ।

बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीमा कांग्रेसको क्रियाशील सदस्यतामा विवाद देखिएको थियो ।

कांग्रेसले मंसिर ९ गते देखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।

यसअघि भदौ १६–१९ का लागि तोकेको महाधिवेशन क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले मंसिरमा नयाँ मिति तोकेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.