त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

८ भदाै, काठमाडाैँ ।

Advertisement

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गरेका थिए । ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो ।

Advertisement

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहनुभएको छ । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चन्दले जानकारी दिए ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस्यु (एई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

Advertisement

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top