एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ ।
नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन् ।
यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ । त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनोट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।
पटकपटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ ।
त्यससँगै राष्ट्रिय सभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुवै सदनमा गरी प्रमुख सचेतक र सचेतक (चार जना)को छनोट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिइएको स्रोतले जनाएको छ ।
हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ । तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।