१२ भदौं, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल नर्कको बाटो हिंडेको आरोप लगाएका छन् ।
शनिबार ललितपुरस्थित लुभुमा भएको युवा संघ नेपालको भेलालाई सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो। सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ । अहंकार पालेर बसेका थिए अब चोइटिएर गए । हाम्रो पार्टीका नेता–कार्यकर्ताले म म भन्दैन ।’
ओलीले नेता नेपालको अहंकारले उनी नै खरानी भएर गएको बताएका छन् । ‘यसले मान्छेलाई खरानी पारेर, टुक्र्याएर लग्यो’, उनले थपे, ‘म भन्ने अहंकारको भावना छाडौं । माधव नेपाल जाने बाटो नर्कको हो । माधव नेपालले हिँडेको बाटोमा कोही पनि नजानु, त्यतातिर नलाग्नु ।’
उनले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको पनि बताएका छन् ।उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भने ।