१२ भदौं, एजेन्सी ।
बंगलादेशको ब्राहमनबारिया जिल्लामा डुंगा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् भने ५० जना वेपत्ता छन् ।
शुक्रबार राति करिब १०० भन्दा बढी यात्रु बोकिरहेको डुंगा बिजयनगर क्षेत्रमा दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप छानविन गर्ने जनाएको छ ।
डेली स्टार न्युजका अनुसार विपरीत दिशाबाट आइरहेको कार्गोले डुंगालाई ठक्कर दिँदा डुंगा पानीमुनि डुबेको थियो । दुर्घटना भएको क्षेत्र बंगलादेशको राजधानी ढाकादेखि ८२ किलोमिटरको दूरीमा छ ।
बंगलादेशका नदीमा हरेक वर्ष डुंगा दुर्घटना हुने गरेका छन् । गत मे महिनामा पदमा नदीमा डुंगा दुर्घटना हुँदा २७ मानिसको मृत्यु भएको थियो । सन २०१५ मा कार्गो बोट दुर्घटना हुँदा ७८ मानिसको मृत्यु भएको थियो ।
