बेपत्ता दिवस : २१ वर्षपछि मृत्युको न्यायिक घोषणा

बेपत्ता दिवस : २१ वर्षपछि मृत्युको न्यायिक घोषणा

काठमाडौं : २०५७ फागुन १० गते बेपत्ता बनाइएका बिर्खलाल कुँवरको परिवारले २१ वर्षपछि अदालतबाट मृत्युको न्यायिक घोषणा पाएको छ। रोल्पा नगरपालिका–१ बासिनाका बिर्खलाललाई तत्कालीन विद्रोही पक्षले ४३ वर्षको उमेरमा घरबाटै बेपत्ता बनाएको थियो। साना ५ छोराछोरीलाई पत्नी बिरमाले कष्टपूर्वक हुर्काइन्। बिर्खलाल बेपत्ता भएपछि त्यो परिवारमा परेको पीडाका बारेमा कहीं कतैबाट सोधखोज भएन, सहयोगको त कुरै छाडौं। जानीनजानी द्वन्द्वबाट प्रत्यक्ष प्रताडित र उनीहरूका परिवारले भोग्नेगरेको मानसिक पीडा झनै ठूलो छ। मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नलिने गरिएका कारण पीडित जहिल्यै पीडामै रहन बाध्य हुन्छन्।

रोल्पा नगरपालिका–६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा पनि तत्कालीन १० वर्षे माओवादी युद्धबाट पीडित हुन्। २०५८ चैत १५ गते उनका पतिलाई माओवादीले घरबाट लगेर छेउको गाउँमा गोली हानी मारेका थिए। पीडा यतिमै रोकिन्न। २०५९ सालमा दाङमा पढ्ने भाइलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठा छोरा हीराबहादुर बुढालाई उतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो। मृतकलाई मात्र राहत दिने सरकारको निर्णयपछि उनले उति बेलै बेपत्ता छोराको मृत्यु दर्ता गराइन्।

पतिलाई माओवादीले गाउँमै मारे। पतिको हत्याको घाउमा खाटा नबस्दै सेनाले छोरो बेपत्ता बनाएपछि मेघमाली विक्षिप्तजस्तै भइन्। ‘छोरा आउला भन्ने आश छैन। सुरुसुरुमा आश लाग्थ्यो, अब त मरिसक्यो’, उनले बेथा सुनाइन्, ‘पतिलाई कांग्रेस, सिआइडी भनेर मारे। बिचरा, ग्वाला–गोठालो जान्थे, घरगाउँ गर्थे। के बिगारेका थिए र माओवादीले मारे रु त्यस्ता सोझाले पनि सिआइडी गर्छन् रु मरेको लासवरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ त्यसो गर्नेहरू कोको हुन्, थाहा छ मेघमालीलाई। तर आगामी पुस्ताका लागि विगत भुल्न बाध्य छिन्। ‘उनीहरूले जस्तो गर्न त भएन नि’, उनले भनिन्।

माओवादी देख्दा नि मेघमालीको मन दुख्छ, सरकार भन्दा नि मन दुख्छ। एउटाले श्रीमान् मारे, अर्काले छोरा बेपत्ता बनाए। छोराको लास भए पनि, सास भए पनि हेर्ने धोको अझै मनको कतै कुनामा राखेकी मेघमाली बर्बराउँदै गर्दा आखा टिलपिल टिलपिल पार्छिन्।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.