युरिया मलको चरम अभाव

काठमाडौं: किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो ।

Advertisement

अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिकटनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ ।

महामारीको प्रभावका कारण यस वर्ष अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले सरकारले छुट्ट्याएको बजेटले आवश्यक परिमाणमा मल खरीद गर्न नसकिएका कारण मलको अभाव चुलिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकलाई बताए ।

Advertisement

उनका अनुसार यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरिया मलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ भने ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको छ ।

मलको अभाव चुलिएसँगै चितवन, मकवानपुर, बारा, पर्सा सुनसरी, मोरङ, बाँके बर्दियालगायत अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न नपाएको बताएका छन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले जिल्लाका धेरैजसो किसानले युरिया र पोटास नपाएका कारण धानमा टपड्रेसिङ गर्न नपाएको गुनासो गरे । ‘सहकारीमा मल छैन कहाँबाट टपड्रेसिङ गर्ने किसानलाई सधैं यस्तै समस्या छ,’ उनले भने । गतवर्ष पनि यही समयमा युरियाको अभाव भएपछि किसानले धानबालीमा मल हाल्न पाएका थिएनन् ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top