आर्थिक अभावले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेन

१५ भदौ ७८, बुधबार

१५ भदाै, चितवन।

Advertisement

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन ।

धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वनविज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए । सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उहाँले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए।

Advertisement

रङ्गशालामा हालसम्म रु. ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए । उनले भने, “असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन ।” उनका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन । सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ ।

अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रङ्गशालाको धेरै काम गर्न सकेको बताउनुहुन्छ । गतवर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताउँछन् । रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने उनको भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ । बजेट भएको भए ढलानका काम अघि बढ्ने उनी बताउँछन् ।

Advertisement

विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उनले जानकारी दिए । अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रङ्गशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताइन् । उनले भनिन्, “सङ्घीय, प्रदेश, महानगरसँगै दाताहरुको सहयोगमा छिट्टै रङ्गशाला निर्माण सम्पन्न गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौँ ।” महानगरभित्रको महत्वपूर्ण आयोजना रङ्गशाला भएको भन्दै उनले यसको कामलाई गति दिन आवश्यक रकम जुटाउनेमा लागिपरेको प्रस्ट्याइन्।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदैछ । विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top