मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा जितको दाउमा नेपाली टोली

१७ भदाै, काठमाडौं ।

दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबिच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित वङ्गबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद रहेन । त्यसयता नेपाल र भारतबिच फुटबलमा १९ पटक भिडन्त भएको छ ।

भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटि मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा नेपाली टोली भारतसामु निरीह साबित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ ।

हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि आज साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ । भारतसितको हालसम्म गरेको प्रदर्शनको तथ्याङ्कलाई गलत साबित गर्ने योजना मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाए ।

बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत उहाँले नेपालीलाई खुसी बनाउनका लागि मात्र होइन गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्नुभएको छ । प्रशिक्षक अलमुताइरीको वाचाले पनि नेपाली टोलीको उत्साह बढेको पाइन्छ । प्रशिक्षक अलमुताइरीले भारतसितका दुवै मैत्रीपूर्ण खेल नेपालले जित्नकै लागि खेल्ने बताए ।

नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङ पनि भारतसितका दुवै खेलमा नेपालले जित हासिल गर्नेमा ढुक्क छन् । युवा टोलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्नेमा उनी आशावादी छन् । भारतीय टोलीमा पनि अधिकांश खेलाडी नयाँ भएको चेम्जोङलाई हेक्का छ । त्यसैले पनि उनको मनोबल उच्च भएको पाइन्छ ।

नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बनेका छन् । नेपाली मूलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा छन् । क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छतन् । त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ । क्षेत्रीले नेपालसितका आठ खेलमा पाँच गोल गरेका छन् । भारतीय टोली क्षेत्रीका साथै अनिरुध थापा, ब्रान्डन फर्नान्डज, प्रितम कोटलगायत खेलाडीमाथि निर्भर रहने छ भने नेपालका लागि सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटी, अञ्जन विष्टलगायत भरपर्दा खेलाडी छन्। नेपालसित किरणकुमार चेम्जोङजस्ता दक्षिण एसियाकै उत्कृष्ट गोलकिपर छन् । त्यसैले नेपाली टोलीको मनोबल उच्च छ ।

नेपाल र भारतबिचको मैत्रीपूर्ण फुटबलका लागि अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्ने अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए । दर्शकले मैदानमा प्रवेशका लागि एन्फाले बुधवार मात्र अनुमति पत्र पाएको हो । नेपाल र भारतबिचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनुमति पाउनुभएको छ । दर्शकलाई मैदान प्रवेशको अनुमतिले पनि नेपाली टोलीको उत्साह बढेको अध्यक्ष शेर्पा बताउँछन् ।

नेपाल र भारतबिच सन् १९८७ डिसेम्बर २३ मा दोस्रो दक्षिण एसियाली खेलकुदमा दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । भारतको कोलकातामा भएको उक्त खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले हराएको थियो । सन् १९८९ अक्टोबर २३ मा पाकिस्तानमा भएको साफ खेलमा नेपाल भारतसित २-१ गोलले हार बेहोर्न पुग्यो । उक्त खेलमा नेपालका लागि मणि शाहले पहिलो गोल गरेका थिए।

यस्तै सन् १९९३ जुलाई १९ मा पाकिस्तानको लाहोरमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १-० गोलले हराएको थियो । सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रकरमा ४-३ गोलले जितेको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीबाट दुई/दुई गोल मात्र हुन सकेको थियो । नेपालले भारतलाई पहिलो पटक हराउन सफल भएको थियो । नेपालका तर्फबाट उमेश प्रधान र मणि शाहले गोल गर्नुभएको थियो । त्यसअघिको सेमिफाइनल खेलमा दुवै टोलीले दुई/दुई गोलको बराबरी खेलेको थियो ।

यसै गरी सन् १९९५ डिसेम्बर २५ मा भारतको मद्रासमा भएको साफ खेलमा भारतले नेपाललाई ३-० गोलले पराजित गरेको थियो भने सन् १९९८ डिसेम्बर ५ मा थाइलेण्डको बैंककमा भएको एसियाली खेलकुदमा भारतले नेपाललाई १-० गोलले हराएको थियो । सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा भारतले नेपाललाई ४-० गोल अन्तरले हराएको थियो । सन् २००५ डिसेम्बर १८ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई २-१ गोलले हराएको थियो । सो खेलमा नेपालका लागि वसन्त थापाले गोल गरेका थिए ।

यस्तै सन् २००६ अप्रिल ९ मा बङ्गलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भारतलाई नेपालले ३-० गोलले हराएको थियो । नेपालका लागि प्रदीप महर्जनले दुई तथा वसन्त थापाले एक गोल गरेका थिए । सन् २००८ जुन ३ मा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४-० गोलले तथा सन् २००९ डिसेम्बर ७ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको तथ्याङ्क छ ।

यस्तै सन् २०१२ अगष्ट ५ मा भारतको नयाँ दिल्लीमा भएको नेहरु कपमा दुवै देशले गोलरहित बराबरी खेलेका थिए । सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो । उक्त खेलमा जुमानु राई र अनिल गुरुङले गोल गरेका थिए । सन् २०१३ नोभेम्बर १९ मा भारतको पश्चिम बङ्गालको सिलिगुढीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-० गोलले पराजित गरेको थियो ।

यसै गरी सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो भने सन् २०१५ अगष्ट ३१ मा भारतको पुनामा भएको मैत्रीपूर्ण खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै सन् २०१५ डिसेम्बर २७ मा भारतको त्रिवेन्द्रममा सम्पन्न साफ च्याम्पियनसिपमा भारत ४-१ गोलले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्ती मगरले गोल गरकेा थिए । सन् २०१७ जुन सातमा भारतको मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले हराएको थियो ।

नेपाली टोली भारतसित छ वर्षपछि भिड्दै छ । भारतले नेपालको गोलपोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । एन्फाले दर्शक मैदानमा प्रवेशका लागि आज रङ्गशालाका पाँच वटै प्रवेशद्वार खुला गरिने जनाएको छ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेका सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने छ । नेपालसित मैत्रीपूर्ण खेल खेल्न मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ । विक्रम गिरी/रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top