१९ भदाै, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई रुघा खोकीसहित ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।
प्रेस संयोजक बजगाईंले भने, ‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ । पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुनसक्छ ।’
अस्वस्थ्य भएसँगै ओली बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । नेकपा एमाले विभाजित भएसँगै केही दिनयता राजनीतिक कार्यक्रम र बैठकमा अध्यक्ष ओली व्यस्त बनेका थिए।
शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।