विराटनगर, असार २८
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले खेलकुद विधेयकको मस्यौदामाथि आज सरोकारवालाहरुसंग सुझाव संकलन गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायतको जिम्मेवारी पाएको सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विधेयक २०७५ को मस्यौदा तयारी गरिरहेको छ ।
सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयको कार्यक्षेत्र धेरै भएको र आफुहरु सबै क्षेत्रमा विज्ञ नभएका कारण सरोकारवालाहरुको सुझाव संकलन गरि मस्यौदा तयार पार्ने कार्य गरिरहेको जानकारी दिए ।
उनले मन्त्रालयले तयार पारेको मस्यौदाले पछि कानुनको रुप लिने हुँदा यसलाई उत्कृष्ट बनाउन सबै सरोकारवालाहरुलाई आग्रह गरे । सबै क्षेत्रमा अब्बल एक नम्बर प्रदेशलाई खेलकुदको क्षेत्रमा पनि अब्बल बनाउन त्यसैअनुसारको कानुन, नीति निर्माण गरिनुपर्ने उनले बताए ।
राष्ट्रियस्तरमा मात्रै नभएर अन्तराष्ट्रियस्तरमा नै एक नम्बर प्रदेशलाई चिनाउन खेल क्षेत्रलाई दरिलो आधार बनाइने उनले बताए । मन्त्रालयले सरोकारवाला निकाय क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुसँग सुझाव संकलन गरेको हो ।