दार्चुलाका बाढीपीडित भन्छन्- तुइन काटिएपछि खाद्यान्न अभाव भयो

२२ भदौ, काठमाडौं ।

Advertisement

दार्चुलाको दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन्।

भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन्। गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ।

Advertisement

गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन्।

यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन्।

Advertisement

‘पहिराले घर भासिने क्रम अझै रोकिएको छैन। घर धुजाधुजा बनेका छन्। खेत पूरै दरार भएका छन्। साउन १४ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु?’, पुरनले भने, ‘त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुप¥यो।

बाढीपहिरो आएको भोलिपल्टसम्म जमिन भासिएको थिएन। तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ। यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन। हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ’, उनले भने।

उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ। सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो। राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताए।

उनकाअनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो। बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो। उनले भने, ‘अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ। तर कति दिन विद्यालयमा बस्नु। विद्यालय खोल्ने तयारी हुँदैछ। हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनुपर्छ।’

बाढीपहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशी लगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन्।

‘हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ’, पुरन साहुले भने, ‘जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन। हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस्।’

प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन्। उनले बाढीपहिराको स्थलगत निरीक्षणपछि भने, ‘खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन्।’ उनकाअनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top