२२ भदाै, काठमाडौं ।
नेपाली स्पिनर सन्दीप लामिछाने चम्कँदा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई पहिलो ओडिआई खेलमा १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ । मंगलबार अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भयो ।
पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम सोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए ।
विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बने । समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी बनेका छन् । विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए । विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदा पिएनजी २–९ को कमजोर अवस्थामा पुगेको थियो । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चार्ल्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । चाल्सले २३ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
सन्दीपले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे । कुशलले विकेटकिपर किप्लिङ डोरिगालाई कुशल भुर्तेलबाट १५ रनमा क्याच गराए । सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
सोमपाल कामीले गौडी टोकालाई भुर्तेलबाट २४ रनमा क्याच आउट गराउँदै नेपाललाई आठौं सफलता दिलाएका थिए । गौडीले २९ बलमा २ चौका प्रहार गरे । अन्तिम विकेटका लागि सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । चन्द सोपार ३३ बलमा १ चौका सहित १७ रनमा अविजित रहे ।
नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । स्पिनर कुशल मल्लले ७ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।
केही बेरमा लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गर्नेछ। आज नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ब्याटिङ गर्ने लगभग निश्चित छ।