एजेन्सी, असार २९
रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनाकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने फिफाले जनाएको छ ।
लुजनिकीमै भएको आयोजक रसिया र साउदी अरेबियाबीचको ओपनिङ म्याच समेत उनैले खेलाएका थिए । शारीरिक शिक्षाका शिक्षक समेत रहेका ४३ वर्षीय पिटानाले ओपनिङ सहित रसियामा ४ खेल खेलाइसकेका छन् ।
फाइनल खेलमा अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले पिटानलाई असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन्। यस्तै नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियलको रुपमा हुनेछन् भने रेफ्री असेसरको भूमिकामा एरविन जिएनस्ट्रा रहनेछन् । रसिया विश्वकपको फाइनल खेलाउने पिटानाले यसअघि सन् २०१४ मा ब्राजिल विश्वकपमा पनि रेफ्रीको भूमिकामा काम गरेका थिए ।
उनी अर्जेन्टिनाबाट दुई विश्वकपमा सहभागी हुने दोस्रो रेफ्री हुन्। यसअघि नोर्बरटो कोइरेज्जा दुई विश्वकपमा सहभागी भएका थिए । यसैगरी इंग्ल्याण्ड र बेल्जियमबीच हुने तेस्रो स्थानको खेलको रेफ्रीमा इरानको अलिरेजा फगानी चयन गरिएको छ।