एजेन्सी,असार ३०
रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्ट पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो ।
बेल्जियम दोस्रो पटक तेस्रो स्थानको प्लेअफ खेल्दै छ भने इङ्ल्यान्ड पनि दोस्रो पटक तेस्रो स्थानका लागि खेल्दै छ । जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो ।
समूह चरणको नतिजा दोर्होयाउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदैछ भने इङ्ल्यान्ड हारको बदला लिने दाउमा छ । विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया भिड्ने छन् ।