२५ भदाै, काठमाडाैँ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश भएको प्रतिस्थापन विधेयकले आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने बताएका छन् । शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको बताए । उनले बजेट मात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको बताए।
प्रतिस्थापन विधेयकको मुख्य पक्ष आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको उनले बताए । अर्थमन्त्री शर्माले भने– ‘संवैधानिक व्यवस्था अनुसार मैले आज प्रतिस्थापन विधेयक ल्याएको छु । यसको मुख्य पक्ष के हो भने पहिलो कुरा आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको छ । अर्थ नभएका बजेटमात्र विनियोजन गरेका त्यस्ता योजनाहरुलाई मैले हटाएको छु र चालु खर्च अन्र्तगत तालिम भत्ता लगायतको बजेट १० प्रतिशत कटौती गरेर कोभिडको लागि भ्याक्सिन किन्ने बजेटमा मैले त्यसलाई रुपान्तरण गरेको छु ।’
अर्थमन्त्री शर्माले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी पनि गरे । उनले भने – ‘निश्चित समय भित्र कोभिड भ्याक्सिन दिइसक्छौँ । र आर्थिक गतिविधिलाई चलायमान भयो भने आर्थिक वृद्धि ७ प्रतिशतमा स्वत्ः पुग्नेछ ।’