२५ भदाै, काठमाडाैँ ।
परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन । परराष्ट्रविद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।
पूर्व राजदुत समेत रहनु भएका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवावलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।
विभुवन विश्वविद्यालय नेपाल तथा एशीयाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले मुलुकको राष्ट्रिय सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए। उनले नेपालको राष्ट्रिय सुरक्षामा आँच आउने खालका गतिविधि यस अघि पनि हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी राष्ट्रिय सुरक्षा संयन्त्रहरुलाई परिचालन गर्नुपर्ने पनि बताए । कार्यकारी निर्देशक कार्कीले अफगानिस्तानको घटनाले नेपाललाई पनि आफ्नो राष्ट्रिय सुरक्षामा ध्यान दिन सचेत गराएको पनि स्पष्ट पारे।
कार्यकारी निर्देशक कार्कीले अमेरिकाले अफगानिस्तानमा लिएको रणनीति फेल खाएको निष्कर्ष समेत निकालेका थिए । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विज्ञहरुले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतिको विषय रहेको औंल्याएका थिए ।