२९ भदाै, गोरखा ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलीय सझदारी बनाएर यथासीघ्र एमसिसी पास गर्नुपर्ने बताएका छन्। डा. भट्टराईले सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा एमसिसी पास गर्न अलमल गर्नुपर्ने बिषय नभएको तर्क गरे।
उनले भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । जनता समाजवादी पार्टी एक्लैको निर्णयले एमसीसी पास गर्न सम्भव छैन, त्यस अर्थमा राष्ट्रिय सहमतिबाटै टुंगो लागोस्।’
एमसिसीले देशको सबै आवश्यकता पूर्ति नहुने भए पनि विकास र संवृद्धिमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो। ‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिँदा जस्तो सन्तोष हुन्छ, एमसिसीले त्यस्तै राहत हुन्छ भन्ने मान्यता हो’, एमसीसीबारे प्रष्ट्याउँदै उनले भने, ‘मुलुकको पूरै समस्या एमसीसीले हल हुने भन्ने होइन।’
एमसीसीको विषय अहिले भ्रमको रुपमा गिजोलिएर जनस्तरसम्म फिँजिएको र अनावश्यक तर्क र बितर्कले प्रश्रय पाएको भट्टराईले बताए। एमसीसी अनुदान सहयोगभन्दा बढी केही नभएको उनले दाबी गरे। यस्तो सम्झौता पचासौँ देशसँग भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले नेपालका लागि यो सबैभन्दा ठुलो सम्झौता भएकाले मात्र संसदबाट पास गर्न खोजिएको उनले बताए।
उनले भने,‘हाम्रो संविधान अनुसार सहयोग सम्झौता संसदबाट पास गर्न आवश्यक थिएन । बिगतका भन्दा ठूलो राशिको सहयोग भएकाले संसदमा पेश भएको हो। यस्ता सम्झौतामा बिवाद बढी भएको हुनाले राष्ट्रिय सहमति जुटाउ सहज हुन्छ भन्ने कोणबाट हाम्रो (नेपालको) तर्फबाट माग गरेर राखिएको रहेछ।’
हाम्रो देशमा कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भने झैँ बिप्पा, एमसिसी, बिआरआई सबैमा विरोध हुने गरेको उनले चर्चा गरे।
एमसीसी त्रिपक्षीय चासोको विषय बनेको बताउँदै उनले बिदेशी ठूला राष्ट्रलाई अनावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध राख्न सक्ने आशंका ब्यक्त गरे।