एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

२८ भदौ ७८, मंगलबार

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्।

आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्। यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखिन्।

उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन्। ‘नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ।’

Advertisement

उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै प्रभाव पार्न सक्ने बताइन्।

ती अधिकारीका अनुसार एमसिसी कम्प्याक्टमा समावेश हुन, आयोजना छनोट गरेर अनुदान स्वीकार गर्न र सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई अमेरिकाले दबाब दिएको हो र भन्दै सुमारले आफैंले माग्ने, आयोजना छनोट आफैंले गर्ने तर अहिले कार्यान्वयनका बेला राजनीति गरेको आरोप लगाइन्।सुमारले घुमाउरो किसिमले एमसिसीको विरोधमा चिनियाँ लबिडले काम गरेको र नेपालका वामपन्थी नेताहरू पनि त्यसैमा लागेको आरोप लगाएकी थिइन्।

Advertisement

उपाध्यक्ष सुमारले विवादमा भूमिका खेल्न नसकेको भन्दै एमसिए नेपालका पदाधिकारीप्रति पनि असन्तोष व्यक्त गरेकी थिइन्। ‘एमसिसीका बारेमा विरोधीहरूले नचाहिँदो हल्ला फैलाएपछि त्यसलाई चिर्ने पहिलो काम तपाईंहरू (एमसिएका पदाधिकारी) को हो’, सुमारले भनिन्, ‘तर कसैले पनि आफ्नो भूमिका निर्वाह गरेको देखिएन।’ ती अधिकारीले सुमारको आक्रोशलाई हेर्दा राजनीतिक दलका नेतालाई पनि चर्को दबाब दिएको अनुमान गरे।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top